काठमाडौँ – कृषिमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशिल रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन् ।
चालु आर्थिक वर्षको लागि मन्त्रालयलाई प्राप्त भएको बजेटबाट हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरिसकिएको र ४ लाख २४ हजार टन बिक्री गरि सकिएको उनले जानकारी दिए । । यसको अलावा ५२ हजार टन यूरिया र ३० हजार टन डिएपी कलकत्ता बन्दरगाह भर्खरै आइसकेको आइपुगेको अवस्था रहेको उनले बताए ।
मन्त्री अधिकारीले जारी धान रोपाइँ सिजनका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले मन्त्रालयले आवश्यक व्यवस्था गरेको बताए । हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरुमा करिब ९५ हजार टन मल मौज्दात रहेको र स्थानीय तहको सिफारिसको आधारमा मल विक्रेता सहकारी संस्थाहरुलाई उपलव्ध गराइरहेको उनको भनाई छ ।
मन्त्री अधिकारीले मलको वितरण व्यवस्था प्रभावकारी बनाउनमा प्रदेश सरकार र स्थानीय तहको अहम भुमिका रहेकोले मलको अत्यधिक माग हुने यस सिजनमा गैरकानुनी एवं अनाधिकृत रुपमा मलको कारोबार एवं विक्री वितरण गरि कालोबजारी गर्ने कामलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । मल वितरण कार्यलाई सहज पारदर्शी र प्रभावकारी बनाउने दिशामा आवश्यक सहयोग तथा सहजीकरण गर्न समेत उनले अपिल गरे ।