काठमाडौँ– नेपाली कांग्रेसको शेखर कोइराला पक्षका नेताहरुले केन्द्रीय अनुशासन समितिले नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन् ।
बिहीबार काठमाडौंमा बसेको कोइराला पक्ष नेताहरुको बैठकले अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।
पार्टीको सदस्य उपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ वर्षपछि कारबाहीको निर्णय बाहिर आउनु आफैमा पार्टी विधान र नियमावली विपरीत रहेको उनले बताए । त्यस्तै घिमिरेले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने गरि पक्षपातपूर्ण र गुट प्रेरित ढंगले कारवाही भएको आरोप लगाए ।
यस विषयमा शेखर कोइराला लगायतका नेताहरुले सभापतिसंग कुरा गर्ने घिमिरेले बताए। उनले पार्टीभित्र प्रतिस्पर्धी समूहलाई पाखा लगाउने प्रयत्नको सालिन र सभ्य रुपबाट प्रतिवाद हुने धारणा राखे ।
केन्द्रीय समितिको बैठकपश्चात् पार्टी सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय पाँच जना बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने भन्ने सहमतिविपरीत कारवाहीको निर्णय आएको कोइराला पक्षको भनाई छ ।
यसअघि बुधबार कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका वा पार्टीले समर्थन गरेको उम्मेदवारबिरुद्ध असहयोग गरि पराजित गराउने गलत मनशायका गतिविधि गरेको भन्दै पार्टीका केहि नेता तथा कार्यकर्तालाई निस्काशन र निलम्वन गरिएको निर्णय सहितको विज्ञप्ती सार्वजनिक गरेको थियो ।