काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् ।
बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भइ निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन् ।
पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको उनले बताइन् । उनले भनिन्, ‘पार्टीको विधि विधान अनुुसार राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै छ । अध्यक्षको हैसियतले मैँले कुनै पनि भेला बोलाएको छैन ।’
अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको उनको भनाई छ । श्रेष्ठले आफू निरन्तर काममा हिडिरहेको भन्दै पार्टीको विवादका बारेमा केही थाहा नभएको र कुनै भेला नबोलाएको जिकिर गरिन् ।
































































