काठमाडौँ – खेलकुदमन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडी बढाइएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा आफ्नो एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै मन्त्री चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको जानकारी दिए । उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद नीति, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समसामयिक संशोधन गर्न बनेको विद्येयक संसदमा दर्ता गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयारी भएको जानकारी दिए ।
मन्त्री चोधरीले जापानमा हुने २० औं एसियाली खेलकुद प्रतियोगिताका लागि मिसन २०२६ खेलाडी प्रशिक्षण अन्तर्गत १० खेलका ८५ जना खेलाडी र १९ जना प्रशिक्षक गरी जम्मा १०४ जनालाई विशेष प्रशिक्षण संचालन भईरहेको बताए । मूलपानी क्रिकेट रंगशाला, काठमाडौँ र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, मोरङ्गको डिपिआर सम्पन्न भएको, कीर्तिपुर क्रिकेट मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।
मन्त्री चौधरीले अहिले २७ मध्ये १६ वटा खेलकुद संघले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको जानकारी दिदै उक्त संघहरुलाई अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिन सरकारले नै सहजीकरण गर्ने बताए । ओलम्पिक कमिटीले गैरकानुनी रुपमा आफ्नो काम गरिरहेको बताउँदै उनले छिटै तदर्थ समिति गठन गर्ने समेत बताए ।
मन्त्री चौधरीले छिटै राष्ट्रिय खेलकुदको मिति तय हुने र तोकिएको मितिमा नै प्रतियोगिता सम्पन्न गर्ने दाबी गरे । उनले अन्तर्राष्ट्रिय भलिवल कवर्डहल निर्माणका लागि काठमाण्डौं उपत्यका भित्र जग्गा प्राप्तिको कार्य छिटै हुने उल्लेख गरे । नेपालको दोस्रो पुरानो रंगशाला नारायणी रंगशाला र नारायणी कभर्ड हल निर्माणको कार्य अगाडी बढेको उनको भनाइ छ ।
































































