ललितपुर – वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आएका ललितपुरको महालक्ष्मी नगरपालिकाका बासिन्दाले अब मेलम्चीको पानी पाउने आशा बढेको छ। ग्वार्को चोकदेखि महालक्ष्मी नगरपालिका–४ कमलपोखरीसम्म विस्तार गरिने मुख्य खानेपानी पाइपलाइनका पाइप नगर क्षेत्रमा आइपुगेपछि आयोजना कार्यान्वयनको तयारी अघि बढेको हो।
ग्वार्को पुलनजिकै कर्मनाशा करिडोर र कमलपोखरी क्षेत्रमा १० इन्चका ठूला पाइप बोकेका ट्रक पुगेपछि नगरपालिकाका जनप्रतिनिधिमा उत्साह देखिएको छ। लामो समयदेखि खानेपानीको समस्या समाधानका लागि प्रयास हुँदै आएकोमा पाइप आइपुग्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
महालक्ष्मी नगरपालिकाका १० वडामध्ये विशेषगरी वडा नम्बर १ देखि ४ सम्मका बासिन्दाले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन्। भूमिगत स्रोतबाट डिप बोरिङमार्फत पानी वितरण हुँदै आए पनि तीव्र सहरीकरण र बढ्दो जनसंख्याका कारण मागअनुसार पानी उपलब्ध गराउन कठिन हुँदै आएको छ।
खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्ने क्रममा अघिल्लो नगर नेतृत्वको कार्यकालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को सञ्जाल विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो। त्यसलाई अघि बढाउँदै वर्तमान नगर प्रमुख हरिगोविन्द श्रेष्ठले केयुकेएलसँग निरन्तर समन्वय र सहकार्य गरी मेलम्चीको पानी नगरपालिकामा ल्याउने पहल गरेका हुन्।
केयुकेएल ललितपुर शाखा कार्यालय, जावलाखेलले कात्तिक २८ गते प्रकाशित गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनाअनुसार ग्वार्को चोकदेखि महालक्ष्मी नगरपालिका–४ कमलपोखरीसम्म २०० मिलिमिटर व्यासको डीआई ट्रान्समिसन मेन पाइपलाइन जडानका लागि पीएस निर्माण एण्ड सप्लायर्स छनोट भएको थियो। उक्त कम्पनीले १ करोड ३४ लाख ५६ हजार ८१० रुपैयाँमा ठेक्का पाएको छ।
करिब दुई किलोमिटर लामो मुख्य ट्रंक लाइन विस्तारका लागि आवश्यक पाइप नगर क्षेत्रमा आइपुगेपछि अब निर्माण तथा जडानको काम अघि बढ्ने भएको छ।
यसैगरी केयुकेएलले महालक्ष्मी नगरपालिका–१ का सम्झना बस्ती, शिव टोल, तिमल्सिना टोल र श्रीकृष्ण टोल तथा वडा नम्बर ४ का नवसिर्जना टोल, आदर्श प्रगति टोल र चन्द्रागिरि शिवालय टोलमा वितरण पाइपलाइन विस्तारका लागि समेत छुट्टाछुट्टै बोलपत्र स्वीकृत गरिसकेको छ।
पाइप आइपुगेको स्थलमा पुगेका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले निर्वाचनका बेला नागरिकसमक्ष गरेको प्रतिबद्धता पूरा हुने दिशामा महत्वपूर्ण प्रगति भएको बताए।
उनले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्दै खानेपानीको दिगो स्रोत अभाव समाधान गर्न केयुकेएलसँग निरन्तर समन्वय गरिएको बताए।
‘नगरपालिकामा विकास निर्माणका लागि बजेटको अभाव थिएन, तर पानीको दिगो स्रोत नहुँदा वडा नम्बर १ देखि ४ सम्मका नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन कठिन भइरहेको थियो। खानेपानीका ट्याङ्की निर्माण, स्थानीय स्रोतको संरक्षण र केयुकेएलसँगको निरन्तर समन्वयमार्फत मेलम्चीको पानी नगरपालिकामा ल्याउने पहल गरेका हौँ,’ उनले भने।
उनले ग्वार्को–कमलपोखरी ट्रंक लाइनका पाइप नगर क्षेत्रमा आइपुग्नु नगरवासीको वर्षौँदेखिको खानेपानी समस्या समाधान गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको बताए।
निर्माण व्यवसायीका अनुसार अब छिट्टै पाइपलाइन विस्तार तथा जडानको काम सुरु हुनेछ। आयोजना समयमै सम्पन्न भई पानी वितरण सुरु भएमा महालक्ष्मी नगरपालिकाका खानेपानी अभावग्रस्त क्षेत्रका बासिन्दाले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।
पाइप आइपुगेको स्थलमा नगर प्रमुख श्रेष्ठसँगै उपप्रमुख लक्ष्मी महर्जन, वडाध्यक्षहरू छिरिङ लामा, ध्रुव केसी, कुबेर केसी र अमृत खत्रीलगायत जनप्रतिनिधिको उपस्थिति थियो। त्यसैगरी कार्यपालिका सदस्य माधव श्रीमाली र लक्ष्मी दाहाल, भौतिक पूर्वाधार इन्जिनियर लब गुप्ता तथा वडा सदस्य कृष्ण सुवेदी, शशीकुमार महर्जन र दाताराम कार्की पनि उपस्थित थिए।
मेलम्चीको पानी नगरपालिकामा ल्याउने योजना सफल भएमा महालक्ष्मीका नागरिकले वर्षौँदेखि भोग्दै आएको खानेपानी संकट समाधानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ।



























