काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणाली र संविधान नमान्नेहरुले संसदमा लगातार अवरोध गरिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा पूर्व प्रमुुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले अहिलको व्यवस्थालाई कमजोर बनाउन लोकतान्त्रिक प्रणाली र संविधान नमान्नेहरुले संसदभित्रै परेर व्यवस्थालाई भत्काउने र आगो बाल्ने प्रयास गरेको बताएका छन् ।
यस्तो प्रवृतिका मान्छेहरुका कारण प्रणालीमा समस्या उत्पन्न भएको र सबै कुरामा त्यसको प्रतिछाप पर्न गएको उनले बताए । प्रधानमन्त्री ओलीले संविधान र कानुनभित्र रहेर सबैले स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाउने भन्दै संविधान र कानुनभन्दा बाहिर गए कानूनले नियन्त्रण गर्ने स्पष्ट पारे । उनले लोकतान्त्रिक प्रणालीमा सरकार शासक नभइ व्यवस्थापक र सेवक मात्रै हुने भएकाले कोहि अराजकता देखिएमा काननुले आफ्नो बाटो लिनुपर्ने अवस्था आउने बताए ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए ।
उनले आफूू विगतमा गृहमन्त्री र प्रधानमन्त्री हुँदा पनि स्वच्छ निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलगायत निकायलाई कुनै हस्तक्षेप नगरेको स्मरण गर्दै गरे । आफुले पटक पटक निर्वाचन लड्दा कुनै प्रकारको अनुचित क्रियाकलाप नगरेको जिकिर गर्दै उनले यसलाई असैले असत्य प्रमाणित गर्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डपछि कुशको नक्कली राजा बनाएको र नक्कली राजाले जनताको अधिकार खोसेपछि अधिकार बिहीन बनाएर राजतन्त्रलाई विदाई गरिएको उल्लेख गरे ।
































































