काठमाडौं – हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
नाइमाले पूर्वनिर्णयअनुसार प्रदान गरेको उक्त सहयोग संघकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा संघका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा संघको डिजिटल एजेन्सी डिजिपालका तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल उद्देश्य विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताए । उनले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा संघ सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष वैद्यले कठिन समयमा प्रभावित समुदायसँग आफूहरू साथमा रहेको सन्देश दिनु सहयोगको मुख्य उद्देश्य रहेको बताए ।
































































