काठमाडौं – हिमालय बिल्डिङ कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) बीच ग्राहकका लागि दुर्घटना बीमा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । कम्पनीले २५ वर्षदेखि गृहसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाउँदै ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राखी सदस्यता कार्यक्रमअन्तर्गत बीमा सुविधा ल्याएको जनाएको छ ।

सम्झौताअनुसार कम्पनीको सदस्यता कार्यक्रममा आबद्ध ग्राहकले सदस्यताको स्तरअनुसार दुर्घटना बीमा सुविधा पाउनेछन् । सिल्भर सदस्यताअन्तर्गत १ लाख रुपैयाँसम्म, गोल्ड सदस्यताअन्तर्गत ५ लाख रुपैयाँसम्म र डायमन्ड सदस्यताअन्तर्गत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आगामी दशैंको घटस्थापनाको दिनदेखि ग्राहकले उक्त बीमा सुविधा प्राप्त गर्नेछन् । ग्राहकको सुरक्षा तथा जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सुविधा तथा सेवाहरू विस्तार गर्दै लैजाने जनाएको छ ।