काठमाडौं – लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले गत भदौ १० गते रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ ।

कम्पनीका अनुसार सहयोग रकम कम्पनी तथा त्यहाँ कार्यरत कर्मचारीहरूको व्यक्तिगत योगदानबाट संकलन गरिएको हो । विपद्का कारण प्रभावित नागरिकको आवश्यकता सम्बोधन गर्न तथा पुनःस्थापनाका प्रयासमा योगदान पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

लक्ष्मी सनराइज क्यापिटलले विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको जनाएको छ ।