काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने यतिबेला भैरहवा कारागारमा छन् । नेपालका अधिकांश कारागारहरु कैदीबन्दीले भरिभराउ भएर एकै कोठामा कैयौं कोचाकोच गरेर बस्नुपरेको अवस्थामा रविलाई भने एक्लै छुट्टै कोठामा राखिएको छ ।
यद्यपि मानव अधिकार आयोगका प्रतिनिधिहरुले रवि बस्ने कोठामा एसीको व्यवस्था भने नभएको बताएका छन् । रविको अवस्था बुझ्न सोमबार भैरहवा कारागारको अनुगमनमा पुगेका उक्त टोलीले कारागारमा आधारभूत सुविधाको गम्भीर अभाव रहेको उल्लेख गरेका हुन् ।
आयोगकी प्रवक्ता लिली थापाले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दीहरू राखिएको, शौचालयको संख्या कम र उपलब्ध शौचालयहरू पनि अत्यन्तै खराब अवस्थामा रहेको पाइएको बताइन् ।
थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ ।’
यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।
जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएपनि आफूहरूले मोटो जाली वा डन्डी राखेर भए नि झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको उनको भनाई छ ।



























































