काठमाडौँ – विराटनगर स्थित मोरङ कारागारमा पुरुष र महिला कैदी बन्दी राख्न नयाँ भवन निर्माण भएसंगै कैदीबन्दीलाई पछिल्लो समय बसोबास सहज भएको कारागार प्रशासनले जनाएको छ ।
मोरङ कारागारमा २ सय ५० जना क्षमताको एउटा पुरुष कारागार र ५० जना क्षमताको महिला कारागार भवन रहेको थियो । करिब साढे ३५ करोड रुपैयाँ लागतमा २ सय १८ जना क्षमताको पुरुष कारागार र ९९ जना क्षमताको महिला कारागार बनाइएपछि कैदीबन्दीलाई पहिलेको भन्दा केही सुविधा पुगेको कारागार प्रशासनले जनाएको हो ।
नयाँ पुरुष कारागार भवनमा ४ सय २२ जना र पुरानो भवनमा ६ सय २४ जना गरी १ हजार ४६ जना कैदीबन्दीलाई राखिएको मोरङ कारागारका प्रशासक गौरव ढुंगेलले जानकारी दिए । नयाँ भवन बनेपछि कैदीबन्दीहरुले निकै सुविधा पाएको र सुत्न बस्न अप्ठयारो नरहेको उनले बताए ।
मोरङ कारागारमा कैदीबन्दी भवन बाहेक कार्यालय भवन, नेपाल प्रहरी सुरक्षा भवन, सशस्त्र प्रहरी सुरक्षा भवन, आवास, भेटघाट कक्ष लगायतका भवनहरु पनि निर्माण गरिएको छ । यसैगरी नयाँ कैदीबन्दी भवनमा भलिबल कोर्ट र व्याडमिण्टन कोर्टका साथै आधुनिक खाना पकाउने मेशिन समेत जडान गरिएको कारागार प्रशासक गौरव ढुंगेलले बताए ।



























































