काठमाडौं – भूगर्भ सिमेन्ट लिमिटेडले आफ्नो नाम जोडेर सार्वजनिक भइरहेका ऋण अपचलन तथा आर्थिक अनियमिततासम्बन्धी समाचार र चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले यस्ता समाचारमा प्रस्तुत गरिएका आरोपहरू आफ्नो वास्तविक व्यावसायिक कारोबारसँग मेल नखाने स्पष्ट पार्दै आम नागरिकलाई तथ्य र प्रमाणका आधारमा धारणा बनाउन आग्रह गरेको छ।

भूगर्भ सिमेन्ट लिमिटेडले बानियाँ निर्माण सेवासँग चुनढुंगा उत्खनन तथा ढुवानीसम्बन्धी औपचारिक सम्झौता गरी २०७६ सालदेखि निरन्तर कारोबार गर्दै आएको छ। उक्त सम्झौताको प्रतिलिपि सम्बन्धित बैंक तथा खानी तथा भूगर्भ विभागमा वार्षिक रूपमा पेस गर्दै आएको छ। उत्खनन तथा ढुवानी सेवाबापत बानियाँ निर्माण सेवाले कम्पनीको नाममा जारी गरेको बिल–बिजकअनुसार कामको परिमाण र रकमका आधारमा भुक्तानी हुँदै आएको छ। त्यसैले भुक्तानी रकम कामको परिमाणअनुसार घटबढ हुनु स्वाभाविक हो।


ADVERTISEMENT

# #


निर्माण सेवाले प्राप्त गरेको रकम आफ्नो अन्य व्यावसायिक कारोबारमा कहाँ र कसरी प्रयोग गर्छ भन्ने विषय भूगर्भ सिमेन्टको जानकारी वा नियन्त्रणको क्षेत्रभित्र पर्दैन। त्यसैगरी, कम्पनीलाई आवश्यक पर्ने कच्चा पदार्थ बानियाँ सप्लायर्सबाट समेत खरिद हुँदै आएको र उक्त कारोबार पनि सम्बन्धित बिल–बिजक तथा व्यावसायिक प्रक्रियाअनुसार नै सञ्चालन हुँदै आएको छ।

कम्पनीको नाम जोडेर ऋण अपचलन वा व्यक्तिगत लाभसम्बन्धी आरोप लगाउनु अघि कारोबारको वास्तविक प्रकृति, सम्झौता, बिल–बिजक, बैंकिङ विवरण तथा आधिकारिक अभिलेखको समग्र अध्ययन हुन आवश्यक छ। कुनै अर्को पक्षले प्राप्त गरेको रकमको प्रयोगलाई स्वतः भूगर्भ सिमेन्टसँग जोडेर व्याख्या गर्नु न्यायोचित हुँदैन भन्ने कम्पनीको धारणा छ।


ADVERTISEMENT

#
#


भूगर्भ सिमेन्ट लिमिटेडले हाल पनि आफ्नो व्यावसायिक तथा उत्पादनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ। कम्पनीले लिनुपर्ने र दिनुपर्ने रकमको कारोबार सम्झौता, बिल–बिजक तथा प्रचलित प्रक्रियाअनुसार हुँदै आएको जनाएको छ।

कम्पनीको स्पष्ट धारणा छ—व्यावसायिक कारोबारको मूल्यांकन हल्ला, आशंका र अपुष्ट समाचारका आधारमा होइन, वास्तविक कागजात, वित्तीय अभिलेख र प्रमाणका आधारमा हुनुपर्छ। अनुसन्धान प्रक्रियालाई सम्मान गर्दै आम नागरिक, सञ्चारमाध्यम तथा सरोकारवाला सबैलाई एकपक्षीय प्रचारबाट प्रभावित नभई तथ्यका आधारमा धारणा बनाउन भूगर्भ सिमेन्ट लिमिटेड हार्दिक अनुरोध गर्दछ।