काठमाडौँ – भुटानमा हुन लागेको साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न जाने यू–१७ राष्ट्रिय महिला टिमलाई विदाई गरिएको छ ।
आइतबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका पदाधिकारीहरुले यू–१७ राष्ट्रिय महिला टिमलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा यू–१७ राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिपको टीम भन्दा अहिलेको यू–१७ टीम राम्रो बनेको बताए ।
यू–१७ राष्ट्रिय महिलालाई बलियो बनाउन निकै मेहनत गरेकाले अब उपाधिका साथ फर्कने लक्ष्य लिइएको उनले बताए । त्यस्तै यू–१७ राष्ट्रिय महिला टिमकी कप्तान भूमिका बुढाथोकीले आफूहरुको प्रशिक्षण निकै राम्रो भएको र अव राम्रो खेल प्रदर्शन गरेर नजिता आफ्नो पक्षमा ल्याउने बताइन् ।
साफ यु–१७ महिला च्याम्पियनसिप यहि अगष्ट २० देखि ३१ सम्म भुटानमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । खेलहरु डबल राउण्ड रोविन लिगको आधारमा हुनेछ । लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।


























































