काठमाडौं – चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी भ्रमणका उपलब्धिबारे जानकारी गराएको छ।

भेटमा भ्रमण टोलीका तर्फबाट महामन्त्री विपिनकुमार आचार्यले सभापति लामिछानेलाई चीन भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, छलफल तथा अवलोकनबारे विस्तृत ब्रिफिङ गरेका हुन्।


ADVERTISEMENT

# #


आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्तालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेका थिए। त्यसक्रममा केन्द्रीय तहदेखि काउन्टी तहसम्मका चिनियाँ नेताहरूसँग दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी गराएका थिए।

त्यस्तै, चीनमा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन, अन्तरक्रिया र विपद्पूर्व तयारी तथा विपद्पछिको व्यवस्थापन रणनीतिबारे गरिएको अध्ययनका विषयमा पनि आचार्यले जानकारी दिएका थिए। भ्रमणका क्रममा नेपाल–चीनबीच द्विपक्षीय सहकार्यका सम्भावनाबारे समेत छलफल भएको उनले बताए।


ADVERTISEMENT

#
#


भ्रमणको ब्रिफिङ सुनेपछि सभापति लामिछानेले चीनमा स्थापित उच्चस्तरीय राजनीतिक संवाद र भ्रमणका क्रममा देखिएका तथा सिकिएका विषयलाई व्यवहारमा उतार्न निर्देशन दिएका छन्। उनले प्राप्त अनुभव र ज्ञानलाई पार्टीभित्र संस्थागत गर्दै देश विकासका काममा समेत उपयोग गर्न भ्रमण टोलीलाई आग्रह गरेका हुन्।

नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहरको भ्रमणमा गएको रास्वपाको २० सदस्यीय टोली बिहीबार राति स्वदेश फर्किएको थियो।