काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक ISO/IEC 27001:2022 को प्रमाणीकरण नवीकरण गरेको छ।
यस नवीकरणले बीमित, ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रति कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली अर्थात् Information Security Management System (ISMS) सम्बन्धी विश्वव्यापी रूपमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय मानक हो। यसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान तथा मूल्याङ्कन गर्न, आवश्यक सुरक्षा उपाय लागू गर्न र ती उपायको प्रभावकारिता नियमित समीक्षा तथा सुधार गर्न व्यवस्थित आधार प्रदान गर्दछ। यस मानकको केन्द्रमा सूचना सुरक्षाका तीन प्रमुख आधार—गोपनीयता, अखण्डता र उपलब्धता—रहेका छन्।
गोपनीयता (Confidentiality) ले ग्राहकको व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील सूचनामा अधिकारप्राप्त व्यक्तिको मात्र पहुँच सुनिश्चित गर्ने उद्देश्य राख्छ। अखण्डता (Integrity) ले सूचना सही, पूर्ण र विश्वसनीय राख्दै अनधिकृत परिवर्तनबाट सुरक्षित गर्ने कुरालाई जोड दिन्छ। त्यसैगरी, उपलब्धता (Availability) ले आवश्यक समयमा अधिकारप्राप्त प्रयोगकर्ताका लागि सूचना तथा सम्बन्धित प्रणाली उपलब्ध हुने व्यवस्थालाई प्राथमिकता दिन्छ।





