काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तीजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो ।
मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन मित्रपार्क जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका सूचना अधिकार अनिता भट्टले जानकारी दिइन् ।
यसैगरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट बागमति नदि पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र बाहिरिने व्यवस्था मिलाइएको उनले बताइन् । दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने भट्टले जानकारी दिइन् । उनले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरिन् ।
त्यस्तै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले सोहि दिन पशुपतिको चावटा ढोकाबाट प्रत्येक दुई सेकेण्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले शिष्ट र सभ्य पहिरनमा मन्दिर दर्शनका लागि आउन आग्रह गरे । नदी किनारमा पानीको बहाव बढेकाले बिपद् प्रतिकार्य टोली खटाइएको उनले जानकारी दिए ।
यसैगरी भक्तजनको सवारी पार्किङका लागि सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको कोषले बताएको छ । जेष्ठ नागरिक, असक्त, बृद्धबृद्धा, बिरामी र काखे बालक बोकेका महिलाहरुका लागि सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ ।



























































