काठमाडौँ – ‘साहित्यकार बिन्दु अधिकारी ढकाल र भगवती अधिकारी सेडाइद्वारा सम्पादित एवं प्रकाशित ‘आमाका पाइला’ नामक कृतिको लोकार्पण गरिएको छ । शनिबार भक्तपुरमा एक समारोहबीच उक्त कीर्ति सार्वजनिक गरिएको हो ।
अक्सिजन कवि बालकृष्ण अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीको जीवनमा आइपरेका सुखद–दुखद क्षण र उनले गरेका संघर्ष, समाजमा पुर्याएको योगदान, दिएको संस्कार र मार्गदर्शन समेटेर उक्त कीर्ति प्रकाशित गरिएको हो ।
उक्त कीर्तिमा विभिन्न २६ वटा लेख रचना रहेका छन् । पूर्वमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा कृति समालोचना साहित्यकार कुलप्रसाद पराजुलीले गरेका थिए । पूर्वमन्त्री टंक ढकाल प्राध्यापक डाक्टर विनोद लुइटेल पत्रकार शिवकुमार भट्टराई समेतले शुभकामना दिएको उक्त कार्यक्रममा उद्योगी व्यवसायी साहित्यकार प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले कृतिले भावी सन्ततिलाई महत्त्वपूर्ण प्रेरणा मिल्ने बताए । साहित्यकार देवी घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्वको संस्कृति झल्किने संगिनी नृत्य पनि प्रस्तुत गरिएको थियो । साथै बुवाको मुख हेर्ने दिनको संयोग पारेर ६ जना ८० वर्ष नागेका जेष्ठ नागरिकहरुलाई बुवा सम्मान प्रदान गरिएको थियो ।
साथै समारोहमा कृतिमा रचना भर्ने स्रष्टाहरूलाई पनि सम्मान गरिएको थियो। सीताराम पदमकुमारी फाउन्डेसनका अध्यक्ष अधिवक्ता विश्वमणि गौतमको अध्यक्षतामा सम्पन्न तीज नृत्य पनि प्रस्तुत गरिएको थियो ।































































