काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता इन्द्रबहादुर बानियाँमाथि राज्यशक्तिको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्। उनले सरकारको कार्यशैली नसच्चिए कांग्रेस प्रतिकारमा उत्रने चेतावनी दिँदै त्यसको परिणाम सरकारका लागि भारी पर्ने बताएका छन्। महामन्त्री पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै राज्यका निकायलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम बनाउन नहुने बताएका छन्।

उनले प्रधानमन्त्रीनिकट व्यक्ति र सत्तारुढ दलका लागि एउटा कानुन तथा अन्य नागरिकका लागि अर्को कानुन लागू हुने अवस्था स्वीकार्य नहुने स्पष्ट पारे। ‘बन्ने हो भने यी–यी मान्छेलाई पोल। तिम्रो बयानभित्र यी मान्छेहरूलाई जोड, यसरी बयान देऊ भन्ने अवस्था सिर्जना गर्नु राज्यशक्तिको दुरुपयोग होइन भने के हो ? सरकारलाई कांग्रेसको प्रश्न छ– प्रधानमन्त्रीको समूहमा रहेका व्यक्ति र सत्तारुढ दलका लागि एउटा कानुन अनि अरू नागरिकका लागि अर्को कानुन हो ?’ उनले प्रश्न गरेका छन्। पौडेलले सरकारको संविधान, संसद्, विधिको शासन र राज्यका निकायमाथिको हस्तक्षेप तत्काल रोक्नुपर्ने बताएका छन्।


ADVERTISEMENT

# #


नयाँ नेतृत्वको अनुभव अभावलाई ध्यानमा राखेर कांग्रेसले सुरुवातमा संयमता अपनाए पनि सरकारका पछिल्ला गतिविधिले सामान्य कमजोरीभन्दा पनि नेतृत्वको सोच, चरित्र र प्रवृत्तिमाथि नै प्रश्न उठाएको उनको भनाइ छ। कांग्रेसले संसद्लाई छलेर ल्याइएका अध्यादेशहरू तत्काल फिर्ता लिनसमेत माग गरेको छ। विशेषगरी प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना अध्यादेश ल्याइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

त्यस्तै, संसद्को अधिवेशन तत्काल आह्वान गर्न र संविधानले निर्धारण गरेका सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारसँग माग गरिएको छ। सरकारले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अंगमाथि हस्तक्षेप र नियन्त्रणको प्रयास गरिरहेको कांग्रेसको आरोप छ। राष्ट्रपति जस्तो संवैधानिक संस्थाको गरिमासमेत प्रधानमन्त्री वालेन्द्र शाहबाट अवमूल्यन भएको कांग्रेसको दाबी छ। महामन्त्री पौडेलले सरकारलाई संविधान, विधिको शासन र लोकतान्त्रिक संस्थाहरूको मर्यादाभित्र रहेर काम गर्न आग्रह गर्दै राजनीतिक प्रतिशोध र राज्यशक्तिको दुरुपयोग जारी रहे कांग्रेस चुप लागेर नबस्ने संकेत गरेका छन्।


ADVERTISEMENT

#
#