काठमाडौं–उच्चदरको आर्थिक वृद्धिका लागि वैदेशिक पूँजी भित्र्याउनुपर्ने अर्थमन्त्री युवराज खतिवडाले दोहोर्‍याएका छन् । मन्त्रीको सपथ लिएकै दिन विदेशबाट पैसा ल्याएर नेपालमा लगानी गर्नुपर्ने बताएका खतिवडाले मध्यावधि समिक्षा र श्वेतपत्रमार्फत पनि वैदेशिक पूँजीको आवश्यकता औँल्याएका हुन् ।


ADVERTISEMENT


देशको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी दिने श्वेतपत्र सार्वजनिक गर्दै खतिवडाले नागरिकले आशा गरेको र सरकारी प्रतिबद्धता अनुसारको समृद्धि हासिल गर्न वैदेशिक पूँजी ल्याउनै पर्नेमा जोड दिएका छन् । नागरिकका आशा धेरै भएको तर आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै खतिवडाले त्यो सबै पुरा गर्न विदेशी पूँजी ल्याउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


नेपालले संयुक्त राष्ट्र संघमा गरेको प्रतिबद्धता अनुसारको दिगो विकास लक्ष्य हासिल गर्न, सन् २०२२ भित्र विकासशील राष्ट्रमा सिफारिस हुन प्रत्येक वर्ष डेढ गुणााको हिसाबले स्रोत(रुपैयाँ) परिचालन गर्नुपर्ने भएकोले देशभित्रकै बचतले त्यो आवश्यकता पुरा नहुने उनको भनाइ छ । ‘हामी सय रुपैयाँ कमाउँछौं ९० रुपैयाँ खर्च गर्छौं १० रुपैयाँ मात्र बचत गर्छौं जुन बचतले हाम्रो लगानीको अवाश्यकता पुरा गर्दैन’ खतिवडाले भने,‘यसको लागि बाह्य स्रोत परिचालन गर्नुपर्ने हुन्छ।’

सन् २०२२ मा विकासशील मुलकुमा सिफारिस हुने नेपाल सरकारले लक्ष्य लिएको छ । १२४२ सय डलर प्रतिव्यक्ति आयलाई सरकारले ‘बेञ्चमार्क’ बनाएको छ । त्यस्तै, नेपाल सरकारले सन् २०३० मा दिगो विकास लक्ष्य पुरा गर्ने प्रतिबद्धता जनाएको छ । यसको लागि वर्षमा १८ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने खतिवडाले बताए । तर हाल नेपाल सकारको बजेट १३ खर्ब मुनि छ ।

यसरी अबका दिनमा प्रत्येक वर्ष परिचालन गर्नुपर्ने स्रोतको सीमा बढ्दै गएपनि उपलब्धता भने खुम्चिदैँ गएको सरकारको निष्कर्ष छ । गरिबी हटाउन, रोजगारी बढाउन र विकासका अन्य सूचक पुरा गर्नका लागि अधिकांश लगानी पूर्वाधारमै गर्नुपर्ने भए पनि प्रत्येक वर्ष प्रशासनिक लागत बढ्दै गएको छ ।

विदेशबाट पूँजी ल्याएर स्वदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँदै पूँजी निर्माण गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिँदै आएका छन् । नेपालमा ऋण प्रवाह बढे पनि त्यसले नयाँ पैसा सिर्जना गर्ने काम नगरेकोले निरन्तर मागअनुरुपको निक्षेप बढ्न नसकेको उनको निष्कर्ष छ । ‘नेपालमा पैसाकै अभाव भयो अर्थात् बचत थोरै भयो त्यसैले निक्षेप कम हुँदै गयो फलस्वरुप वैदेशिक पूँजीको आवश्यकता बढ्यो’ उनले भने ।

विदेशबाट विभिन्न मोडलबाट पूँजी ल्याउन सकिने उनको भनाइ छ ।

वैदेशिक सहायता, ऋण, प्रत्यक्ष लगानी अथवा बैंकहरूले विदेशी बैंकबाट ल्याउने ऋणको माध्यमबाट निजी पूँजी भित्र्याउनुपर्ने उनको जोड छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई विदेशी बैंकबाट ऋण ल्याउन खुला गर्ने क्रममा रहेको छ ।

अधिकतम मात्रामा उत्पादनमुलक, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी बढाएर मात्र नेपालको अर्थतन्त्रलाई दिगो र बलियो बनाउन सकिने र सरकार त्यसमै केन्द्रीत हुने उनको भनाइ छ । यसरी वैदेशिक पूँजी परिचालन र स्वदेशी बचत बढाउने, नीतिगत सुधार गरेर लगानीको वातावरण बनाउनेतिर सरकारका आगामी नीति तथा कार्यक्रम केन्द्रीत हुने मन्त्री खतिवडाले बताए ।

पूँजी ल्याएपछि उत्पादन संरचना बदलेर आयातभन्दा आन्तरिक कच्चा पदार्थ, निर्माण सामग्री श्रम र आन्तरिक स्रोत परिचालनमा केन्द्रीत हुनुपर्ने उनको खतिवडाले बताए । नेपालको अर्थतन्त्र आयात–उपभोग– आयातको चक्रमा फसिरहेको बताउँदै यसले अर्थतन्त्रलाई झनै संकुचित गर्ने उनको भनाइ छ ।

‘हाम्रो समस्या के छ भने उच्च आर्थिक वृद्धिको लागि बढी आयात गर्नुपर्ने, बढी आयात गर्दा व्यापार घाटा बढाउने, त्यसपछि भुक्तानी सन्तुलन बिग्रने र विदेशी मुद्रा संचिति टाट पल्टिने र अन्ततः अर्थतन्त्रलाई संकुचित बनाउनुपर्ने अवस्था आउछ’ उनले भने ।