काठमाडौं– मंगलबार राति र दिउँसो भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।
तनहुँको म्याग्दे गाउँपालिका–१ थर्पु बजारस्थित सडकमा दुई स्कुटर आपसमा ठोक्किँदा ग.२१ प ३०३६ नम्बरको स्कुटर चालक ३२ वर्षीय विजय थापा क्षेत्रीको मृत्यु भएको छ। उनको दमौलीस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। उक्त दुर्घटनामा गम्भीर घाइते ग.२३ प ८००७ नम्बरको स्कुटर चालकको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
अर्को नवलपरासी पूर्वको देवचुली नगरपालिका–१५ लोकहास्थित सडकमा ना.२ क ११९ नम्बरको कन्टेनर र प्र.२–०३–००१ ख ४०५६ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा कन्टेनर चालक ३० वर्षीय माधव पंगेनीको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा कन्टेनरका सहचालक र ट्रक चालक घाइते भएका छन् र उनीहरूको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी, बझाङको सुर्मा गाउँपालिका–३ गैरीगाउँस्थित सडकमा से.१ ग १४६ नम्बरको जेसीबी दुर्घटना हुँदा चालक ३० वर्षीय रण बहादुर नेगीको ज्यान गएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ नयाँबस्तीमा ग.२ ख ११४१ नम्बरको बसले बा.१६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय सौगात माझीको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अर्का एक जना मोटरसाइकलमा सवार व्यक्तिको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



























































