काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रमअन्तर्गत धनगढीमा सञ्चालन हुने ‘मिड–डे मील’ दिवा भोजन कार्यक्रमका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले फुड फर लाइफ नेपालमार्फत सञ्चालन हुने उक्त कार्यक्रमलाई सहयोग गरेको जनाएको छ। कार्यक्रमअन्तर्गत केन्द्रीकृत भान्सा सेन्ट्रलाइज्ड किचेन प्रणालीमार्फत धनगढीस्थित सरकारी विद्यालयमा अध्ययनरत करिब ५ हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक र सन्तुलित दिवा भोजन उपलब्ध गराइनेछ।
बैंकका अनुसार विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति बढाउन तथा शिक्षामा निरन्तरता कायम गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



























































