काठमाडौँ – काठमाडौँ – सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय अनुसार सूचीकरणमा नआएका सामाजिक सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।
मन्त्तालयद्वारा जारी सूचनामा भनिएको छ, ‘७ दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण गर्नका लागि मिति २०८२।०५।१२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समय सीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सवै सरोकारवालालाई जानकारी गराइन्छ ।’
बैठकमा मन्त्रालयका अधिकारीहरु, नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरु लगायतका सम्बन्धित क्षेत्रका व्यक्तिहरु सहभागी रहेका थिए। सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दिएको एक साताको समय बुधबार सकिएको थियो । तोकिएको समयमा कुनै पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा नआएपछि मन्त्रालयले कठोर कदम चाल्न बाध्य भएको हो ।
यसअघि सर्वोच्च अदालतले नेपालमा सामाजिक सञ्जाललाई दर्ता प्रक्रियामा ल्याई नियमन गर्न आदेश दिएको थियो । सोही अनुसार २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल दर्ताका लागि एक साता समय दिएको थियो । दर्ताका लागि सामाजिक सञ्जालले नेपालमा सर्पक व्यक्ति तोक्नुपर्ने लगायतका शर्त राखेको थियो ।
तोकिएको समयमा दर्ता नहुने सामाजिक सञ्जाललाई क्रमशः निलम्बन गर्ने निर्णय समेत गरेको थियो । तर, सरकारको निर्णय सामाजिक सञ्जालले अटेर गरेपछि सरकार निलम्बनको बाटोमा लागेको हो ।
नेपालमा टिकटक, भाइबर दर्ता भए पनि फेसबुक, युट्युब, ट्वीटर (एक्स), म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् । अब नेपालमा यी समाजिक सञ्जालहरु चल्नेछैनन् ।




























































