काठमाडौँ – नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका विषयमा सरकारसंग छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसंग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिए ।
सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि बन्द नै गर्ने निर्णय उचित नभएको उनले बताए । बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिए ।
त्यस्तै कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जाल निष्कृय बनाएपछि आमनागरिकमा असन्तुष्टि देखिएको भन्दै यसबारे सरकारसंग कुरा गरिने उल्लेख गरे । सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।
उनले संवैधानिक परिषद्सम्बन्धी विधेयकका सन्दर्भमा छलफल नै नभइ पारितका लागि सदनमा प्रस्तुत गर्नु उचित नभएको बताए ।



























































