काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता भरत सापकोटाले तत्काल एक हजार र पाँच सयका नोट फ्रिज गर्न माग गरेका छन् । नेता सापकोटाले देशमा व्याप्त आर्थिक अनुशासनहीनताका कारण सिर्जित जर्जर अर्थतन्त्र सुधारका लागि उक्त कार्य गर्नुपर्ने बताएका हुन् ।
साथै उनले कालाबजारीया, माफियाहरुले राज्यसत्ताधारीहरुसँग मिली राज्यलाई तिर्नुपर्ने राजश्वरकर छली गरी अवैध जम्मा गरेको सम्पत्ति तुरुन्त छानविन गर्न नवगठित सरकारसँग माग गरेका छन् ।
‘जाली नोट, स्वदेशी तथा विदेशी अवैध मुद्रा, चोरी पैठारीबाट आएको बहुमुल्य धातु तथा गरगहना आदि तुरुन्त जफत गर्न आग्रह गर्दछु ।’ उनले भनेका छन्, ‘सबै प्रकारका बिना स्रोत कर छली, दलाली वा विभिन्न ढंगले असुल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा जम्मा गरिएको सम्पत्ति जफत गरी सरकारी कोषमा दाखिला गर्न माग गर्दछु ।’
पछिल्लो समय अनौपचारिक क्षेत्रमार्फत अवैध रुपमा विशिष्ट व्यक्तिहरुसँग थुप्रिएको रकम फ्रिज गर्न उक्त कदम चाल्नुपर्ने उनको भनाई छ । छानबिन पश्चात अवैध सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने उनले माग गरेका छन् ।


























































