काठमाडौं – नेकपा एमालेले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले संविधान संशोधनका लागि आवश्यक सुझाव संकलन गर्ने तथा संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय सचिवालयको गत जेठ ४, ८, ९ र १० गते बसेको बैठकले उपाध्यक्ष पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य रहेका छन्।
बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई अझ सुदृढ, प्रभावकारी र जनमुखी बनाउन राजनीतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ। ती सुझावका आधारमा संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गरिने जनाइएको छ।
त्यसैगरी संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल र कमजोर पक्षहरूको समीक्षा गर्ने तथा कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूको अध्ययन गरी सुझाव संकलनका लागि विस्तृत कार्ययोजना तयार गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उपसमितिले सुझाव संकलन तथा कार्यतालिकासहितको योजना आगामी बैठकमा प्रस्तुत गर्नेछ।
बैठकले संविधान संशोधनका विषयमा अन्य राजनीतिक दल तथा उनीहरूले गठन गरेका कार्यदलहरूसँग संवाद, छलफल र अन्तरक्रिया अघि बढाउने निर्णय समेत गरेको छ। साथै कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गरिएको छ।
एमालेले संविधान कार्यान्वयनको अनुभव, जनअपेक्षा तथा बदलिँदो राजनीतिक आवश्यकतालाई मध्यनजर गर्दै संविधान संशोधन सम्बन्धी सुझाव संकलन र अध्ययन प्रक्रियालाई व्यवस्थित ढंगले अगाडि बढाउने जनाएको छ। बैठकका निर्णयहरूलाई संविधानको प्रभावकारी कार्यान्वयन तथा शासन प्रणालीको थप सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


























































