हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘जेनजी’ प्रदर्शन पछिको अन्योललाई चिर्दै आगामी निर्वाचनमार्फत देशलाई स्थायित्व र विकासको बाटोमा लैजानुपर्ने बताएका छन् ।


ADVERTISEMENT


संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले सङ्घीय अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, प्रशासन र सुरक्षा संयन्त्र एकजुट हुनुपर्ने आवश्यकता औँल्याए का हुन्।


ADVERTISEMENT

# # #


सोक्रममा उनले शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढाउन सबैको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । मुख्यमन्त्री बानियाँले प्रदेश सरकार मितव्ययी बन्दै सुशासन प्रत्याभूत गराउन केन्द्रित भएको समेत बताए । संविधान प्रदत्त सङ्घीय शासन प्रणालीलाई प्रभावकारी र जनमुखी तवरले सञ्चालन गर्नु प्रदेश सरकारको दायित्व रहेको उनको भनाई छ । प्रदेश सरकारलाई मितव्ययी र नागरिकलाई अधिकतम सेवा सुविधा प्रदान गर्न फजुल खर्च कटौती गर्ने प्रक्रिया सुरु भइसकेको उनले दाबी गरे ।

‘ताजा जनादेशमार्फत् शान्ति र विकासको यात्रा अगाडि बढाउनु अपरिहार्य छ । यसमा सबैको सहकार्य अनिवार्य रहन्छ’ उनले भने( ‘सरकारी निकायहरूबाट प्राप्त गरिने सेवा प्रवाहलाई अझ चुस्त, दुरुस्त, पारदर्शी बनाउन सङ्कल्पसहित बागमती प्रदेश सरकार क्रियाशील छ । प्रदेश सभाबाट पारित सङ्कल्प प्रस्ताव बमोजिम बजेट तर्जुमा प्रणालीमा सुधार गरी स्रोत साधनको वितरणलाई सन्तुलित बनाइनेछ । डिजिटल युग र नयाँ पुस्ताको सोच बमोजिम सेवा प्रवाह र निर्णय प्रक्रियालाई छिटो, छरितो र परिणाममुखी बनाई जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी प्रदेश सरकारका काम कारबाही अगाडि बढ्नेछ ।’

सम्बोधनका क्रममा उनले सुशासनको माग राख्दै भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनमा घाइतेहरूको उपचारको प्रबन्ध प्रदेश सरकारले मिलाउने र प्रदर्शनका क्रममा क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको पुननिर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।