काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र संसद विघटन राष्ट्रपतिको स्वेच्छाले नभएको ठोकुवा गरेका छन् ।
बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चूनौतिहरु बिषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको स्वेच्छाले अन्तरिम सरकार गठन र संसद बिघटन नभएको बताएका हुन् ।
उनले बाध्यता र परिवेशका कारण राष्ट्रपतिले अन्तरिम सरकार गठन र संसद बिघटन गर्नुपरेको जिकिर गरे । अहिले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुन्छ भनेर सोच्नु मुर्खताबाहेक केही नहुने उनले बताए ।
सिटौलाले अहिलेको अवस्थामा जनताको सर्वोच्चता कायम गरेको संविधानलाई सबै मिलेर जोगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे । त्यसका लागि सवै राजनीतिक दल र सरोकारवालाबीच बृहत एकता गर्नुको विकल्प नरहेको उनको भनाई छ ।
उनले जेनजी आन्दोलनका नाममा संविधान बिपरितको काम भएको स्पष्ट पारे । सिटौलाले पार्टीभित्र पनि वादविवाद नगरि जनतालाई सर्वोपरि राखेर काम गर्न सक्नुपर्नेमा जोड दिए ।


























































