काठमाडौैँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले विशेष महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकले मौजुदा केन्द्रीय समिति बिघटन गरि अध्यक्ष प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाविधेशनमा जाने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यसका लागि असोज ९ गते केन्द्रीय कमिटी बैठक बोलाइएको उनले बताए ।
त्यस्तै केन्द्रीय कमिटी अघि असोज ८ गते स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए । बैठकमा पार्टीको नेतृत्व हस्तान्तरणको विचार, विधि प्रक्रियाबारे प्रारम्भिक छलफल भएको यस बारे पनि विस्तृत प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको उनले बताए । बैठकले देशभक्त, लोकतान्त्रिक र परिवर्तन अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिबारेमा एकतावद्ध भएर अघि बढ्न अपिल गरेको उनले बताए ।
त्यस्तै बैठकले पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा छलफल गर्दै फागुन २१ मा घोषित मितिमा निर्वाचन हुनुपर्ने भन्दै त्यसका लागि पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय पनि गरेको छ । बैठकमा प्रचण्डले वर्तमान परिस्थीतिका बारेमा व्रिफिङ गरेका थिए ।


























































