– भरत सापकोटा


ADVERTISEMENT


सूचना प्रविधिको जानकार मानिने नयाँ पुस्ता अर्थात् जेनजीको आह्वानमा भएको गत भदौ २३ को प्रदर्शन र त्यस लगत्तै भएको राष्ट्रव्यापी तोडफोड र आगजनीले विश्व समुदायलाई तरङ्गित गरेको छ । ७४ जनाभन्दा बढीको असामयिक निधन र हजारौं भौतिक संरचनामा पुगेको क्षतिको हिसाब निकाल्न त्यति सहज पनि छैन । सयौंको संख्यामा रहेका घाइतेहरुको पीडा पनि कम दर्दनाक छैन ।


ADVERTISEMENT

# # #


जेनजी अभियानलाई निष्पक्ष र निर्मम समीक्षा गर्नै पर्ने हुन्छ । राजनीति कुनै एनजीओ वा क्लब सञ्चालन गरेजस्तो छैन । यसको आफ्नै राजनीतिक दर्शन र सिद्धान्त हुन्छ । निरन्तरको संघर्ष, उकाली ‌ओराली र घामपानी साथै ती वीर शहीदहरुको बलिदान यसका बाटा र पाटाहरु हुन् । संघर्ष पुस्तौंसम्म पनि जारी रहन्छ ।

तसर्थ, प्रिय जेनजी भाइबहिनीहरु देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमान रक्षाको निम्ति पवित्र नेपाल धरतीका हामी सम्पूर्ण राष्ट्रवादी– नेपाली सन्ततिहरु एक भएर उभियौं भनेमात्र सबैको कल्याण हुन्छ । भ्रष्टाचाररहित सुशासनसहितको आर्थिक समृद्धि, स्थायी शान्ति, शिक्षा, स्वास्थ्य, रोजगार र सांस्कृतिक गरिमाको बोध हुने गरी अघि बढ्नुको विकल्प छैन ।

तसर्थ सफल ढंगले देश हाँक्न जनता र आफ्नो मौलिक संस्कृतिप्रति जिम्मेवार भई दूरदृष्टि राख्‍न सक्ने क्षमतावान, शाहसी, निडर साथै आफ्नो मुलुक र माटोको परिचय, परिभाषा र महत्व बुझेको असल र स्वाभिमानी राष्ट्रभक्त हुनुपर्दछ । यस विषयमा असली जेनजी पुस्ता जानकार नै होला भन्ने मैले पूर्ण आशा र विश्वास गर्दछु ।

तसर्थ फेरि पनि म भन्न चाहन्छु–यो कुनै क्लब वा एनजीओ हाँकेजस्तो होइन । मन लाग्यो दर्ता गर्यो मन लागेन दर्ता खारेज गर्‍यो ।
हुन त यो पुस्ताको सिमाङ्कन आफैमा स्थायी हैन केही वर्षमै यसले चरण पार गर्नुपर्ने हुन्छ । अघिल्लो पुस्ताको अनुभव र ज्ञानबाट यसले पनि धेरै लाभ लिन सक्नुपर्ने हुन्छ । फेरि अर्को नयाँ पुस्ता आइहाल्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । म पनि २०४६ सालको जनआन्दोलनताका अहिलेको जेनजी जस्तै तत्कालीन किशोर पुस्ताको रुपमा आन्दोलनको पछि लागेको थिएँ, २०६२–६३ को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रही नेतृत्व गर्दै गरेको ताजा स्मरण अझैपनि छ ।

पुस्तान्तरण र समाज परिवर्तनको सिद्धान्तलाई आत्मसात् गरी सबै पुस्ताहरुबीच सहमति, सहकार्य, एकताभावसहित राष्ट्रिय हितलाई लिएर अघि बढ्नुको विकल्प छैन । यसमा आधुनिक प्राविधिक ज्ञानले युक्त जेनजी पुस्ता पक्कै पनि गम्भीर र संयमित हुने नै छ ।

अन्त्यमा, म को हुँ ? मेरो काम, कर्तव्य, जिम्मेवारी र अधिकार केहो ? भन्ने कुराको बोध गरी म, हामी, राजनीतिक दल र हाम्रो विचारभन्दा पनि माथि राष्ट्र र राष्ट्रियता छ भन्ने हेक्का राखेर अघि बढ्नु नै सबै पुस्ताको लागि हितकर छ । अध्ययन, अनुभव र संघर्षको लामो यात्रा बाँकी नै रहेको जेनजी पुस्ताको लागि त यो झनै अपरिहार्य रहेकोमा कसैको दुईमत नहोला ।।

(सापकोटा नेपाली काँग्रेसका युवा नेता हुन् ।)