काठमाडौँ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपश्चात अन्तिरिम सरकारको नेतृत्वको जिम्मेवारी पाएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।


ADVERTISEMENT


सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभाथी हुन समेत सबैलाई आह्वान गरेकी छन् । उनले भनिन्, ‘प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवाको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आह्वान गर्न चाहन्छु ।’


ADVERTISEMENT

# # #


तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ छ । साथै उनले छोटो समयमा निर्वाचन गर्नुपर्ने अवस्थाका कारण जेन–जीले उठाएका निर्वाचन सम्बन्धी कतिपय माग अहिल्यै पूरा गर्न नसकिने भए पनि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताइन् ।

यद्दपि निर्वाचनमा मतदाता नामावली अध्यावधिक गर्न सरकारले अध्यादेश ल्याएर कार्यान्वयनमा गइसकेको र विदेशमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउनेबारे सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको उनले बताइन् ।

यस्तै उनले जेन–जी आन्दोलनका क्रममा कलिला युवाहरुमाथि गोली चलाउनेहरुमाथि आवश्यक कारवाहीका लागि सरकार प्रतिवद्ध रहेको समेत बताइन् । उनले आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनःर्निर्माण र मर्मतका लागि सरकारी कोष खडा गरिएकाले त्यसमा सहयोग गर्न समेत सबैलाई आग्रह गरिन् ।