काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको आफ्नो दोस्रो तथा निर्णायक खेलमा नेपालले जापानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । नेपालले यसअघिकै प्लेइङ–११ लाई निरन्तरता दिएको छ ।
कुवेतविरुद्ध नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान) सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र ललित नाराण राजवंशी ।
एक खेल अगावै प्रतियोगिताको सुपर सिक्समा पुगिसकेका यी दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाल्ने टोलीले २ अंक बटुल्दै सुपर सिक्समा जाने र उक्त अंक सुपर सिक्सको प्रतिस्पर्धामा जोडिने भएकाले महत्वपूर्ण छ । यी दुवै टोलीले पहिलो खेलमा कुवेतलाई हराएर सुपर सिक्समा स्थान बनाएका थिए ।
नेपालसँग आज जापानमाथि जित निकालै समूह विजेताका रुपमा सुपर सिक्समा जाने अवसर छ ।
नेपाल यसरी छनोट हुनेछ लगातार दोस्रो पटक विश्वकपमा
आगामी वर्ष भारतमा हुने टी–२० पुरुष विश्वकपका लागि पूर्वी एशिया प्यासिफिक र एशिया क्षेत्र छनोटमा ९ टोलीले सहभागिता जनाउँदैछन् । जसका लागि ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘बी’ मा परेको छ । जहाँ जापान र कुवेत रहेका थिए । यस समूहबाट कुवेत बाहिरिसकेको छ ।
यस्तै समूह ‘ए’मा मलेसिया, कतार र युएई रहेका । जहाँबाट युएई र कतार सुपर सिक्समा पुगेका छन् भने मलेसिया बाहिरिएको छ । यस्तै समूह ‘सी’मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् । जसमध्ये ओमानमो १ खेलमा १ जित निकालेको छ भने सामोआले २ खेलमा १ जित निकालेको छ । उसले पपुवा न्यूगिनी (पीएनजी)लाई हराउँदै सुपर सिक्सको यात्रालाई बलियो बनाएको छ ।
यता पीएनजीका लागि आज ओमानविरुद्धको खेल गर वा मरको अवस्था रहेको छ । सुपर सिक्समा पुग्न उसले ओमानलाई राम्रो रनरेटले हराउनुपर्ने छ ।
सुपर सिक्समा प्रत्येक समूहका विजेता र उपविजेताले एक आपसमा खेल्नेछन् । तर, आफ्नै समूहका टोलीविरुद्ध भने भिड्ने छैनन् । जुन समूह चरणकै नजिताका आधारमा २ अंक दिइनेछ ।
नेपालले लगातार दोस्रो पटक विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ ।



























































