काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सरकारी र निजी संरचनामा भएको आगजनी, लुटपाट, तोडफोड तथा विभिन्न व्यक्तिमाथि भएको भौतिक आक्रमण, सुरक्षाकर्मीको हत्या नेपाली इतिहासमै एउटा डरलाग्दो दिनका रुपमा लिपीबद्ध हुने उनले बताएका छन् ।


ADVERTISEMENT


जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका देउवाले मंगलबार नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै भदौ २४ गतेको घटना अकल्पनीय र योजनावद्ध रुपमा घटेको बताएका छन् । ‘यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटना पछि बाहिर आईरहेका तथ्यहरुले पुष्ठि गर्न थालेका छन्।’ देउवाले भने, ‘यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ। यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ ।’


ADVERTISEMENT

# # #


उनले जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते र २४ गते दुबै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन् । साथै उनले संकटको बेलामा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको सराहना समेत गरेका छन् । देउवाले भनेका, ‘प्रतिकूल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखापर्न सक्ने अर्को संकट रोकिएको छ ।’

देशमा भ्रष्टाचार रोक्न र सुशासन कायम गर्ने विषयमा जेन–जीले राखेका माग जायज रहेकाले त्यसको सम्बोधन गर्नुपर्ने बताएका छन् । देशमा सबै महत्वपूर्ण अंगहरुको मनोवल गिरेकाले उनीहरुको मनोबल उच्च राख्ने काम गर्नु पर्ने बताएका छन् ।

सभापति देउवाले भाद्र २४ गते आफु र आफ्नो परिवारमाथि ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको र सुरक्षाकर्मीको घण्टौको अथक प्रयास पछि हामीलाई उद्दार गरिएको बताए । उनले आफ्नो परिवारमाथि आक्रमणले नपुगेर प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरिएको गुनासो गरे ।

‘गत भाद्र २४ गते सिंगो मुलूक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौको अथक प्रयाश पछि हामीलाई उद्दार गरिएको थियो ।’ उनले भने, ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाइहरु जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो ।’

नेतृत्व हस्तान्तरण विधिवत रुपमा गर्ने

सभापति देउवाले कांग्रेसको एकता अहिलेको आवश्यकता भएकाले विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सवैलाई थाती राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टीको आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठिरहेको अवस्थामा महाधिवेशनमार्फत पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने जिकिर गरे ।

‘म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने–‘घरमा सधैं एकै जना मुली रहँदैन ’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु ।’ उनले भनेका छन्, ‘आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन ।’

उनले पूर्ण बहादुर खड्कालाई काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आफ्नो स्वास्थ्य अवस्था देखाउँदै उनले खड्कालाई कार्यवाहक दिएको बताएका हुन् ।

‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उप–सभापती पूर्ण बहादुर खड्का लाई कार्यबाहक सभापतीका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’

प्रतिनिधिसभा विघटन अवैधानिक, निर्वाचनको वातावरण सरकारले बनाएन

सभापति देउवाले जनताले निर्माण गरेको संविधान जोखिममा परेको र प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको उल्लेख बताएका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दहरुसंग समेत संवाद र सहकार्य गर्न आवश्यक रहेको बताए ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको भएपनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको र निर्वाचनको पूर्व सर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी नभएको उल्लेख गरे । देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन भएकाले सबैले स्वतः स्फुर्त निर्बाचनमा भाग लिने अवस्था निर्माणमा सरकार लाग्नुपर्ने उनले बताए ।

‘सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ। तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन,’ उनले भनेका छन्, ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।’

पाँच पटक प्रधानमन्त्री भए पनि एक पटकको कार्यकाल जति पनि भइनँ

सभापति देउवाले आफू पाँच पटक देशको प्रधानमन्त्री बने पनि एक पटकको जति समय पनि देशको नेतृत्व गर्न नपाएको बताएका छन् । संख्यात्मक रुपमा बढी भए पनि अवधिका हिसाबले छोटो समयमा पनि आफूले केही महत्वपूर्ण कार्य गरेको उनले बताए ।

मैले छोटो छोटो समयका लागि भएपनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाए। पाँच पटक प्रधानमन्त्री हुँदा करिव एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिए ।’ उनले भने, ‘तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईहरुलाई अवगत नै छ।’

उनले आफूले कमैया मुक्ति, छूवाछुत मुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय काम गरेको, भ्रष्ट्राचार निवारणका लागि आफू प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको, दलित, महिला, जनजाति लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार गरेको दाबी गरेका छन् ।