गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ ।


ADVERTISEMENT


पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उनले भने, “निर्माण कम्पनीले पुलका लागि चाहिने केवललगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।”


ADVERTISEMENT

# # #


तीन वर्षको सम्झौता अवधि भए पनि पुलको डिजाइन स्वीकृत गर्न र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको प्रमुख कुँवरले बताए । पछिल्लो दुई वर्षमा पुल निर्माणले गति लिए पनि अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ छ ।

विक्रम संवत् २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । चीनबाट पुलको केवल ल्याउन उक्त कम्पनीले प्रतीतपत्र (एलसी) खोल्ने तयारी गरेको प्रमुख कुँवरले बताए । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार जगको काम पूरा भइसकेको छ । चार टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम चाँडो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकका अहिले रहेको पुलको तल र माथि गरी आकर्षक बनावटका दुई ‘सिग्नेचर’ पुल बन्नेछन् । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको हो ।

‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण बढ्नेछ । पुरानो प्रविधिको भन्दा अहिले निर्माणाधीन पुल डिजाइनका हिसाबले आकर्षक रहेको आयोजना प्रमुख कुँवरले बताए । एक सय ९० मिटर लामो उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।

पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छन् । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका छन् । आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका र दुई पुल निर्माणाधीन अवस्थामा छन् ।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भएको छ । पोखराको विजयपुर खोला र सेती नदीमा पुल निर्माणको चरणमा रहेको आयोजना प्रमुख कुँवरले बताए ।  रासस