काठमाडौँ – गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा ट्राफिक प्रहरीलाई नराम्ररी प्रभावित पार्यो । कार्यालयहरु ध्वस्त बने, कतिपय ठाउँमा ट्राफिक प्रहरीमाथि भौतिक आक्रमण पनि हुँदा ट्राफिक प्रहरीको मनोबल खस्किएको छ ।
विशेष गरी काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीहरुमा अझैँ भय र त्रास हटिसकेको छैन । ट्राफिक प्रहरीको मनोबल बढाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी प्रयासरत रहेका छन् ।
उनी कहिले ट्राफिक प्रहरीसँगै मेसमा पुगेर खाना खान्छन् त कहिले डिउटीमा रहेका प्रहरीका समस्या बुझ्न पुग्छन् । अप्ठ्यारो समयमा पनि ट्राफिक प्रहरीहरूलाई काठमाडौँको ट्राफिक व्यवस्थापनमा परिचालन गर्न उनी निरन्तर लागिरहेका छन् ।
यस्तै ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सडकका डिभाइडर, ट्राफिक बत्ती, सिसिटिभीहरुको मर्मत र व्यवस्थापनमा समेत लागिरहेका छन् । उनले तत्कालका लागि सवारी आवागमनमा समस्या हुने देखिएका कारण पहिले भन्दा बढी संख्यामा ट्राफिक प्रहरी खटाइएको उल्लेख गरे । अधिकारीले सवारी चालकहरूले ट्राफिक नियम पालना गरे थप सहज हुने जिकिर गरे ।
आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आगजनी हुनुका साथै बाहिर रहेका सवारी साधन समेत जलेर ध्वस्त भएका छन् । निजी र सहकारी क्षेत्रसँग समन्वय गरेर ट्राफिक प्रहरीहरुलाई सवारी व्यवस्थापनको काममा समेत उनी लागेका छन् ।



























































