काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधता दिने प्रयास भइरहेको आरोप लगाएका छन्।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक प्रक्रियाबाट उद्देश्य पूरा गर्न नसकेपछि केही शक्तिहरूले असंवैधानिक बाटो अपनाउँदै हिंसा, तोडफोड, हत्या र लुटपाटजस्ता गतिविधि गरेको तथा अहिले ती घटनालाई वैधता दिने प्रयास भइरहेको दाबी गरेका छन्।


ADVERTISEMENT

# # #


उनले भूकम्प र कोभिड–१९ महामारीका कारण प्रभावित बनेको अर्थतन्त्रलाई पुनःउत्थान गर्न आफ्नो नेतृत्वको सरकारले प्रयास गरेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा समेत महत्वपूर्ण काम गरिएको बताए। सबै नागरिकले न्याय पाउने, भयमुक्त र शान्तिपूर्ण नेपाल निर्माणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ।

अध्यक्ष ओलीले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील देशहरूले उल्लेखनीय सफलता हासिल गरिरहेको भए पनि नेपालमा सरकारी हस्तक्षेपका कारण फुटबल प्रशासन र एन्फा विवादमा परेको टिप्पणी गरेका छन्। खेल क्षेत्रको विकासका लागि खेलाडीलाई आवश्यक पूर्वाधार, प्रशिक्षण र अवसर उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएका छन्।

खेलकुद महासंघले खेल मात्र नभई देशप्रति जिम्मेवार, अनुशासित र राष्ट्रप्रेमी नागरिक उत्पादन गर्ने भूमिकासमेत निर्वाह गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ।