काठमाडौं – नेकपा एमालेकी नेतृ भगवती चौधरीले पछिल्लो समय देखिएको परिस्थितिको पार्टीभित्र आलोचना नभई आत्मालोचना गर्नुपर्ने बताएकी छन् । एमालेको केन्द्रीय समितिको दशौं बैठकमा बोल्दै नेतृ चौधरीले पार्टीभित्र आवाजहरु दबाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताइन् ।


ADVERTISEMENT


‘एमाले भित्र विवेक छ, तर आवाज दबिएको छ । निषेधको राजनीति, आत्मकेन्द्रित सोच र हालीमुहालीको संस्कृतिले कार्यकर्तामा निराशा ल्याएको छ।’ उनले भनिन्, ‘हामीले आलोचना होइन, आत्मालोचना गर्नुपर्छ । गल्ती ढाकछोप गर्ने परिपाटी अब बन्द गर्नुपर्छ ।’ पार्टी र सरकार दुबैले आत्मसमीक्षा गर्न जरुरी रहेको उनको भनाई थियो ।


ADVERTISEMENT

# # #


पार्टीका इमानदार र कर्मठ नेताहरूलाई अग्रभागमा ल्याउने समय आएको बताउँदै नेतृ चौधरीले त्यसका लागि समावेशीतालाई समेत ख्याल गरिनुपर्ने उल्लेख गरिन् । उनले भनिन्, “एमालेको आत्मा समावेशितामा बस्छ । त्यसैले निर्णय तहदेखि तल्लो संरचनासम्म सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित हुनुपर्छ।”

साथै जेन–जी आन्दोलनले देश मात्रै होइन, पार्टीमा समेत परिवर्तन चाहेको बताउँदै उनले नयाँ अनुहार पार्टीमा अघि सार्नुपर्ने र चुनावमा गएर ताजा जनादेश लिनुपर्ने धारणा राखिन् । सुनसरी–३ बाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी चौधरी भनिन्, ‘जेन–जी आन्दोलनको सन्देश स्पष्ट छ – जनताले नयाँ अनुहार, नयाँ सोच र नयाँ आशा खोजिरहेका छन्। त्यो मागको जवाफ सडकमा होइन, मतपेटिकामा दिनुपर्छ। त्यसैले एमाले चुनावमै जानुपर्छ ।’

साथै उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जिली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिन् । आन्दोलनमा आफू स्वयम् पीडित बनेको बताइन् । उद्यममार्फत सुनसरीमा महिलालाई आर्थिक स्वालम्बनतर्फ अग्रसर गराउन सक्रिय चौधरीले युवालाई स्वरोजगार दिन खोलिएको फरवार्ड सुपरमार्केट समेत आन्दोलनकारीले लुटपाट, आगजनी र तोडफोड गरेको बताइन् ।

आाफूले सुरक्षा माग्दा प्रशासन मौन रहेको जाहेरी लिन पनि आदेशको प्रतीक्षा गरिएको बताउँदै उनले भनिन्, ‘यो न्याय होइन, निष्ठुरता हो।’ उनले जेन–जी आन्दोलनका क्रममा पीडित बनेका जनता, पार्टीका नेता कार्यकर्ताको क्षतिपूर्ति र भरोसा दिलाउन पार्टीमा हेल्प डेस्क समेत सञ्चालनमा ल्याउनुपर्ने माग राखिन् । जेन–जीको पीडामा मल्हम लगाउन पार्टीले प्रतिवद्धता गर्नुपर्ने धारणा राखिन् ।