काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल युएईलाई २३४ रनको चुनौती दिएको छ ।
युएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट २३३ गुमाउँदै रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत दोस्रो शतक हानेका रोहितले १३० बलमा ५ चौका र २ छक्काको मदतमा १०९ रन बनाए ।
यस्तै आशिफ शेखले ४८ बलमा ४ चौकाको मदतमा ३५ रन जोडे भने आरिफ शेख २७ र दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भए । यस्तै करण केसीले ८ बलमा १ चौका र १ छक्कासहित १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ युएईका लागि जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । त्यसक्रममा उनले ६ ओभरमा ४१ रन खर्चिए । यस्तै जुनैद सिद्धिकले सर्वाधिक ३ विकेट लिए भने हैदर अली र मोहम्मद रोहिदले १–१ विकेट बाँडे । युएईले जवाफी ब्याटिङ गर्दैछ ।


























































