काठमाडौं– नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।
गत हप्ताबाट लामोसमयका लागि अर्थात १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पनि दीर्घकालिन निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ ।
बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।
राष्ट्र बैंकबाट आइतबारको बोलकबोलमा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
हाल बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम चुलिरहेको छ ।



























































