काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले घरेलू टोली युएईलाई २४० रनको चुनौती दिएको छ ।
युएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन मात्रै बनाउन सकेको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । त्यसक्रमा उनले ६८ बलमा ७ चौका प्रहार गरे ।


ADVERTISEMENT


यस्तै कुशल मल्लले ५१ बलमा १ चौका र ३ छक्काको मदतमा ४६ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ४३ बलमा ३ चौका र १ छक्कासहित ३७ रन जोड्दा आशिफ शेखले ३४ र आरिफ शेखले ३० रन बनाए । सन्दीप लामिछानेले १० बलमा २ चौकासहित नटआउट १४ अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


युएईका जुनैद सिद्धिक र ध्रुव परासरले समान २–२ विकेट हात पारे । यस्तै जाहिद अली, मुहम्मद जवादुल्लाहले समान १–१ आफ्नो नाममा लेखाए । युएईले जवाफी ब्याटिङ गर्दैछ ।

लिग-२ को अवस्था

युएईमा खराब प्रदर्शन गरिरहेको नेपालले यसअघिका तीन वटै खेलमा हार व्यहोरेको थियो । जसअन्तर्गत पहिलो खेलमा अमेरिकासँग, दोस्रो खेलमा युएई र तेस्रो खेलमा पुनः अमेरिकासँग हारेको नेपालले आज जित निकाल्दै सकारात्मक रुपमा सिरिज टुंग्याउने लक्ष्यमा रहेको छ ।

यता अमेरिकासँग पहिलो खेलमा २४३ रनको लज्जास्पद हारे व्यहोरेको युएई नेपालको कमजोरीको फाइदा उठाउँदै जित निकाल्ने दाउमा रहेको छ । ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १९ खेलमा ५ जित र २ अनिर्णित तथा १२ हारसहित १२ अंकका साथ सातौँ स्थानमा रहेको छ ।

यता समान खेलमा युएईले ४ अ‍ेल र १५ हार व्यहोर्दा ८ अंकसहित अन्तिम स्थानमा रहेको छ । शानदार प्रदर्शन गरिरहेको अमेरिका २४ खेलमा १८ जित ६ हारसहित ३६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यस्तै स्कटल्याण्ड ३० अंकसहित दोस्रो, नेदरल्याण्ड्स २८, ओमान २४, क्यानडा २१ र नामिबिया १९ अंकसहित क्रमशः दोस्रो देखि छैटौँ स्थानमा रहेका छन् । तालिकाका शीर्ष ४ टोलीले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा पुग्नेछन् ।

खराब प्रर्दशन गरिरहेको नेपालको भने एकदिवसीय मान्यता जोगिनेमै आशंका रहेको छ ।