काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिज नेपालले खराब रुपमा अन्त्य गरेको छ । आफ्नो अन्तिम खेलमा घरेलू टोली युएईसँग ४ विकेटले पराजित भएसँगै नेपाल युएईसिरिजमा नेपालले ४ वटै खेलमा हार व्यहोरेको हो ।
अत्यन्त खराब प्रदर्शन गरेको नेपालले कुनै पनि अंकविहीन रुपमा स्वदेश फर्किएको हो । बुधबार युएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन मात्रै बनायो । जवाफी ब्याटिङमा उत्रिएको युएईले ४९.१ ओभरमा ६ विकेटको क्षतिमा जित हात पारेको हो ।
युएईलाई जित दिलाउने क्रममा मुहम्मद शाहदाद र मोहम्मद वासिमले शानदार ब्याटिङ गरे । चौथो विकेटका लागि उनीहरुले १४७ रनको विशाल साझदोरी गरेपनि युएईले सहज जित हात पारेको हो ।
त्यसक्रममा शाहदादले सर्वाधिक ९६ रन बनाए । शतक बनाउनबाट ४ रनले चुकेका उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । वासिमले ७३ बलमा ४ चौका र ३ छक्का ठोक्दै गर्दै ७६ रन जोडे । यस्तै शोहेब खानले २९ तथा अलिशान सफारुले १८ रन बनाए ।
नेपालको खराब बलिङ रह्यो । बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक २ विकेट लिए । उनले १० ओभरमा ५८ रन खर्चिए । यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र नन्दन यादवले समान १–१ विकेट मात्रै लिन सके ।
यसअघि ब्याटिङतर्फ नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । त्यसक्रममा उनले ६८ बलमा ७ चौका प्रहार गरे । यस्तै कुशल मल्लले ५१ बलमा १ चौका र ३ छक्काको मदतमा ४६ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ४३ बलमा ३ चौका र १ छक्कासहित ३७ रन जोड्दा आशिफ शेखले ३४ र आरिफ शेखले ३० रन बनाए । सन्दीप लामिछानेले १० बलमा २ चौकासहित नटआउट १४ अन्यले दोहोरो अंक छुन सकेनन् ।
युएईका जुनैद सिद्धिक र ध्रुव परासरले समान २–२ विकेट हात पारे । यस्तै जाहिद अली, मुहम्मद जवादुल्लाहले समान १–१ आफ्नो नाममा लेखाए ।
लिग-२ मा नेपालको अहिलेसम्मकै खराब प्रर्दशन
नेपालले लिग–२ मा हालसम्मकै खराब प्रदर्शन गरेको छ । नेपालले पहिलो पटक लिग–२ को सिरिजमा पहिलो पटक अंक विहीन बन्न पुगेको हो, अर्थात् पहिलो पटक ४ खेलमा १ अंक पनि बटुल्न नसकेको हो ।
युएईमा पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार व्यहोर्यो । अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाउँदा नेपाल ३९.१ ओभरमा १५६ रनमै अलआउट भयो । यस्तै दोस्रो खेमा युएईसँग नेपाल ५ विकेटले पराजित भयो । नेपालले दिएको २३४ रनको चुनौती युएईले ४३.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
यस्तै तेस्रो खेलमा सम्हालिन नसक्दा २७२ रनको चुनौती समेत जोगाउन सकेन । अमेरिकाले उक्त चुनौती १ ओभर बाँकी छँदै पूरा गर्यो ।
लिग-२ को अवस्था
८ राष्ट्र सहभागी विश्वकप क्रिकेट लिग–२ मा नेपाल नेपाल २० खेलमा ५ जित र २ अनिर्णित तथा १३ हारसहित १२ अंकका साथ सातौँ स्थानमा रहेको छ ।
यता समान खेलमा युएईले ५ खेलमा जित र १५ हार व्यहोर्दा १० अंकसहित अन्तिम स्थानमा रहेको छ । शानदार प्रदर्शन गरिरहेको अमेरिका २४ खेलमा १८ जित ६ हारसहित ३६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
यस्तै स्कटल्याण्ड ३० अंकसहित दोस्रो, नेदरल्याण्ड्स २८, ओमान २४, क्यानडा २१ र नामिबिया १९ अंकसहित क्रमशः दोस्रो देखि छैटौँ स्थानमा रहेका छन् । तालिकाका शीर्ष ४ टोलीले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा पुग्नेछन् ।
खराब प्रर्दशन गरिरहेको नेपालको भने एकदिवसीय मान्यता जोगिनेमै आशंका रहेको छ ।


























































