काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको पार्टीलाई एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरे ।
उनले कम्युनिष्ट पार्टीको एकताले कतिपय प्रतिक्रियावादी टाउको दुखेको उल्लेख गरे । आफूलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिएकोमा विशेष हर्ष र गर्वको महसुस भएको उनले बताए । प्रचण्डले १०पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा आफुहरु नरहेको उल्लेख गर्दै अन्य कम्युनिस्ट घटक या एमालेसँग समेत बृहत् एकताको निम्ति राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति हातेमालो गर्न तयार रहेको जिकिर गरे ।
उनले जेनजी आन्दोलनले उठाएका मुद्दाले आफुहरुको कमजोरी उजागर गरेकै कारण पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गरेको धारणा राखे ।
त्यस्तै प्रचण्डले आफुहरु पार्टी नेतृत्वमा नै बसिरहनुपर्छ भन्ने नरहेको भन्दै नयाँ विचार, विधि र प्रणालीको विकास गरेर फरक भूमिकामा जान तयार रहेको स्पष्ट पारे । उनले पार्टी एकतासंगै अब देशभर एकता घोषणासभा र अभियान लिएर जाने जानकारी दिए ।


























































