काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन् ।
त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखे । उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राहना पनि गरे ।
‘राजनीतिक दलहरु चुनावमा जानैपर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो। तपाईँहरुले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षहरुसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ।’ उनले भने, ‘निर्वाचन आयोगलाई बजेट दिनुभएको छ। बन्दोबस्तीका सामग्रीको व्यवस्थापन भइरहेको छ। यो राम्रो कुरा हो। अब नागरिक समाजसँग पनि कुरा गर्नुहोस्। नागरिक समाजले पनि दलहरुलाई चुनावमा जान प्रेरित गर्नुपर्छ।’
उनले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव पनि सुनाए। त्यतिखेरको सुरक्षा अवस्था र भूराजनितिक परिवेशका सम्बन्धमा पनि उहाँले चर्चा गरे ।
सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायहरुबीचको समन्वयमा जोड दिए । दलहरुले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उनले बताए । उनले भने, ‘दलहरुलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन। चुनाव नगरी हुँदैन। अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनुहुँदैन।’
भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो। हिजो मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।
सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद तीव्र रुपमा अघि बढाएको छ।


























































