काठमाडौँ – नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एशोसिएसन) लाई आपत्कालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले आज भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT

# # #


सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्ड निरन्तर काम गरिरहेको बताए । उनले भने, “नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ । उद्धार सङ्घसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौं ।”

बोर्ड सदस्य नरेन्द्रदेव भट्टले उद्धार केबल आपत्कालीन व्यवस्थापन मात्र नभएर नेपाल पर्यटनको विश्वसनीयता निर्माण गर्ने माध्यम पनि भएको उल्लेख गर्दै आगामी दिनमा उद्धार र जोखिम व्यवस्थापनमा अझ व्यवस्थित गर्ने बताए ।

बोर्ड कार्यसमिति सदस्य ऋषि भण्डारीले हिमाली क्षेत्रमा सुरक्षासँगै वातावरणीय संवेदनशीलता पनि जोडिने भएकाले यस्तो सहयोगले जिम्मेवार पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए ।

हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुलीले नेपाल पर्यटन बोर्डको सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, “सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ । बोर्डको यो सहयोगले हाम्रो उद्धार कार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु ।”

कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत हिक्मत सिंह ऐर, हिमालय उद्धार सङ्घका सिइओ गोविन्द बस्याल, सङ्घका अन्य पदाधिकारीहरु, बोर्डका अधिकारीहरु र पर्वतीय पर्यटनमा काम गरिरहेका व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत सिद्धार्थ विश्वकर्माले सहजीकरण गरेका थिए ।

उक्त अवसरमा बोर्डले सङ्घलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स चार थान, डिसेन्डर्स पाँच थान, पुली चार थान, स्लिङ्स पाँच थान, आइस स्क्रु र पिकेट्स पाँच थान, बिले डिभाइस चार थान, एङ्कर्स चार थान र स्लीपिङ ब्याग पाँच थान हस्तान्तरण गरेको थियो ।

नेपाल पर्यटन बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउन निजीक्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ ।