काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाए । त्यसक्रममा जनकपुरका ओपनर आशिफ शेखले एनपील दोस्रो संस्करणको पहिलो अर्धशतक बनाए । उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
यस्तै मयन यादवले २९ बलमा ३४ रन बनाए भने लाहिरु समाराकूनले २१ बलमा २२ रन जोडे । उनीहरुले छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गरेपछि जनकपुरको इज्जत जोगियो ।
ब्याटिङतर्फ काठमाडौँका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । त्यसक्रममा उनले ४ ओभरमा १५ रन मात्रै खर्चिए । यस्तै साहब आलम, करण केसी र सन्तोष यादवले समान १–१ विकेट लिए ।
पहिलो संस्करणको विजेता टोली जनकपुर जितसहित दोस्रो संस्करण सुरुवात गर्ने लक्ष्यमा रहेको छ । अघिल्लो संस्करणमा ८ मध्ये पाँचौँ स्थानमा समेटिएको काठमाडौँका डिफेण्डिङ च्याम्पियनलाई हराउँदै प्रतियोगितामा सकारात्मक सुरुवात गर्ने दाउमा रहेको छ ।



























































