काठमाडौँ – नेपाल वायुसवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्थामा विमान डाइभर्ट गर्नुपर्ने भएमा अब भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिने निर्णय भएको निगमले जनाएको छ ।
उक्त निर्णय मंसिर ३ गतेदेखि नै लागू हुने निगमको भनाई छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट भईरहेको सम्बन्धमा मिति २०८२–०८–०३ देखि लागु हुने गरी कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निर्णय निगमबाट मिति २०८२–०८–०१ मा भएको जानकारी गराउँदछौँ ।’
यसअघि निगमले भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्दै आएको थियो । तर, केही दिन अघि काठमाडौँमा अवतरण गर्न नसक्दा निगमको विमान दिल्ली डाइभर्ट भएपछि चौतर्फी आलोचना भएको थियो ।
सोही कुरालाई सम्बोधन गर्दै निगमले भैरहवालाई छनोट गरेको हो । भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्दा उल्लेखनीय खर्च कटौती भई समयको वचत हुने विश्वास निगमले व्यक्त गरेको छ ।
यस्तै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्नेबारे अध्ययन अघि बढाइने जनाएको छ ।




























































