काठमाडौं– काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकालेको छ । विराटनगरले सोमबार जनकपुरलाई ९ रनले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेपछि विराटनगरले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७  विकेटको क्षतिमा १३५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रनमै समेटिएको हो । जनकपुरका लागि जोन निकोल लफ्टी इटनले सर्वाधिक ४१ रन बनाए । सोक्रममा उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै लाहिरु मिलान्थाले २२ बलमा २३, सञ्जय कृष्णमसर्थिले १२ बलमा २० रन बनाउँदा आशिफ शेखले ११ बलमा १३ रन जोडे भने अन्यले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरलाई सस्तैमा समेट्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे । सो क्रममा उनले ४ ओभरमा ११ रन मात्रै दिएर सर्वाधिक ४ विकेट चट्काए । यस्तै सूर्य तामाङले २ विकेट लिँदा मर्चेन्ट डि लाङ्गे र शुभम रनन्जनेले समान १–१ विकेट हात पारे ।

यसअघि विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे ।

यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए । प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए । यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । विराटनगरका दुई ब्याटर रनआउट भए ।

बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए । आजै अर्को खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन् ।