काठमाडौं- रास्वपा सभापति रवि लामिछानेले आफू २१ सिटको दलको नेता हुँदा प्रधानमन्त्री बन्ने अवसर आएको दाबी गरेका छन्।
आइतबार पार्टीको कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले त्यतिबेला प्रधानमन्त्री बन्नका लागि हस्ताक्षर गर्न मात्रै बाँकी रहेको प्रस्ताव आफू सामु आएको खुलासा गरेका हुन्।
तर आफूले उक्त प्रस्ताव स्वीकार नगरेको बताउँदै लामिछानेले प्रधानमन्त्रीको पदलाई ‘किस्तीमा आएको उपहार’ को संज्ञा दिए। उनले भने, “किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ।”
लामिछानेले राजनीतिक जीवनमा पद प्राप्त गर्नुभन्दा आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता महत्वपूर्ण हुने बताए। नेता तथा कार्यकर्ताले अवसरका लागि मात्रै राजनीति नगरी जनताको हित र पार्टीको उद्देश्यलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।
उनले राजनीतिमा सबैले सधैँ ठूलो काम गर्न नसक्ने भए पनि कम्तीमा नराम्रो काम नगर्ने संकल्प गर्न सकिने बताए।
लामिछानेले आफू र पार्टीका नेता–कार्यकर्ताले राजनीतिक परिस्थितिअनुसार पद, अवसर र व्यक्तिगत स्वार्थभन्दा सिद्धान्त तथा जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखेका छन्।





























































