काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर नेपाललाई कुनै घाटा नरहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री घिसिङले प्रतियुनिट ६ रूपैयाँ ९५ पैसामा विधुत खरिद सम्झौता गरेर घाटा नभइ फाइदा भएको भन्दै ४३ करोड घाटा भयो भनेर गरिएको प्रचारबाजीमा सत्यता नरहेको बताए । उनले अहिलको विद्युत खरिद सम्झौता गरेर विद्युत प्राधिकरणलाई एक अर्ब २० करोड बचाएको दाबी गरे ।


ADVERTISEMENT

# # #


पिटिसी कम्पनीसंग विद्युत खरिद सम्झौता नभएको भए ८ रुपैया १० पैसामा विद्युत खरिद गर्ने अवस्था रहेको उहाको भनाइ छ । घिसिङले अहिलको सम्झौताले राज्यलाई नाफाका साथै सुख्खा मौसममा उद्योगीहरुलाई थप विद्युत दिन सक्ने वातावरण बनेको जिकिर गरे ।

त्यस्तै मन्त्री घिसिङले सरकारी बजेट रोक्का भएका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिएको बताए । रोक्का भएको बजेट घटाएर हेर्ने हो भने प्रगति प्रतिशत २० प्रतिशतभन्दा माथि पुग्ने उनले बताए । बजेट रोक्कापछिको दोस्रो ठूला अवरोध जेनजी आन्दोलन र विभिन्न परियोजनास्थलमा काम बन्द हुनु रहेको मन्त्री घिसिङले बताए ।

उनले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कडाइका साथ कारबाही थालिएको भन्दै दुई सय ६९ परियोजना ठेक्का तोड्ने प्रक्रियामा रहेको र ४९ ठेक्का आधिकारिक रूपमा तोडिएको जानकारी दिए ।

उनले आफुखुसी राखिएका आयोजनाहरुको बजेट कटौती गरिने समेत बताए । पुनर्निर्माणका संरचनाको डिजाइन तथा निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको उनले बताए । बैठकमा समिति सदस्यहरुले विद्युत खरिद सम्झौता, पुननिर्माण र विकास खर्चका बारेमा चासो राखेका थिए ।