काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको हो । काठमाडौँलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोर्याउने क्रममा कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे । सोक्रममा उनले ११ बलमा १ चौका र ४ छक्का ठोक्दै नटआउट सर्वाधिक ३४ रन बनाए । १९औँ ओभरमा लुम्बिनीका रुबेन ट्रम्पलमेनलाई ३० रन ठोकेका थिए ।
यस्तै आकाश त्रिपाठीले ३६ बलमा ३ चौकाको मदतमा ३२ रन हाने भने सन्तोष यादव २६, मिलिन्द कुमार र जेरहार्ड इरास्मसले समान १७ १७ रन बनाए भने राशिद खान १४ रनमा आउट भए ।
बलिङतर्फ लुम्बिनीका शेयर मल्ल, रुबेन ट्रम्पलमेन, कप्तान रोहित पौडेल र गुलबादिन नैवले समान २–२ विकेट लिए । लम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यस्तै खेल अपराह्न ४ बजे सुरु हुँदैछ । ३ खेलमध्ये पछिल्ला ३ खेलमा लगातार हार व्यहोरेको काठमाडौँ दोस्रो जितको खोजीमा रहेको छ ।
लुम्बिनीको पनि अवस्था उस्तै छ । लुम्बिनीले २ खेलमा १ जित हात पारेको छ भने एउटामा हार व्यहोरेको छ ।


























































