काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वी – मकवानपुरको बकैया गाउँपालिका– ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोलामा निर्माण हुने मल्टिसेल बक्स पुलको शिलान्यास गरेका छन् ।
बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा निर्माण हुने पुलको आज मुख्यमन्त्री बानियाँले शिलान्यास गरेका हुन् ।
बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा बन्ने यो पक्की पुल १२० मिटर लामो हुने छ। यसका लागि प्रारम्भिक रूपमा ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ अनुमान लगाइएको भए पनि श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले कम लागतमा ठेक्का प्राप्त गरेको हो। २०७८ असार ८ गते सम्झौता भएको यो आयोजना ०८४ असार ७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धर्म लामिछानेले जानकारी दिए।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै संघीयताले विकासलाई गति दिएको दाबी गरे । उनले जेन–जी पुस्ताको आन्दोलनले देशमा जनधनको क्षति पुगेको उल्लेख गर्दै युवाको माग सम्बोधन गर्दै भ्रष्टाचारमुक्त, सुशासनयुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।
बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भई पुल निर्माण कार्य अघि बढेको जानकारी दिए ।
पुल निर्माण भएपछि बकैयाको वडा नम्बर ५ र ६ का करिब ८ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अध्यक्ष लामिछानेले बताए । पुल नहुँदा वर्षायाममा बकैया– ६ का विद्यार्थीलाई विद्यालय आवत–जावतमा कठिनाइ हुँदै आएको थियो ।
पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्वअध्यक्ष दामोदर खनाल, पूर्वउपाध्यक्ष सरला बोलखेसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।


























































